राजनीति

जनार्दन शर्माले स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलासा 

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलासा भएको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्माले बैठकमा माइनुटमा हस्ताक्षर गर्ने सहमति जनाए पनि आत्मालोचना भने नगरेको जानकारी दिएका हुन्।

सापकोटाका अनुसार साउन ६ गते शर्माले दिएको विवादास्पद अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल हुँदा शर्माले विषयको गम्भीरता महसुस गरे पनि औपचारिक रूपमा आत्मालोचना नगरेका हुन्। उक्त विषयमा उच्च तहमा पुनः छलफल गरेर सहमति खोजिने सापकोटाले बताए।

“प्रभाकरको विषयमा विस्तृत र स्पष्ट छलफल भयो। कमरेडली भावना रहेको छलफलमा उहाँले माइनुटमा साइन गर्नु भएको थिएन, तर अब माइनुटमा साइन गर्छु भन्नुभएको छ। आत्मालोचना गर्नु भएको छैन तर उच्च तहमा छलफल गरेर सहमतिमा पुग्ने सहमति भएको छ,” सापकोटाले भने।

पार्टी फुट्ने चर्चा बाहिर फैलिएको प्रसंगमा उनले स्थायी कमिटी बैठकले ती दुष्प्रचारलाई खारेज गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको बताए। “स्थायी कमिटीको एकताबद्ध संकल्पले विगतका दुष्प्रचारलाई खारेज गरेको छ,” सापकोटाले स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *