देश

बागमतीका मुख्यमन्त्री लामाले मन्त्रिपरिषद्को बैठक बोलाए,राजीनामा दिदै

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री लामाले राजीनामा दिनु अघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ । लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर प्रदेश प्रमुख विरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो ।

अर्कोतर्फ संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आएका थिए । उनले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिएका थिए ।

अब लामाले राजीनामा दिएपछि बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *