देश

राष्ट्रिय सभामा मेयर भट्टराईको सत्याग्रहप्रति सांसद गोपि आछामीद्धारा सरकारको ध्यानाकर्षण, सात बुँदे माग सम्बोधन गर्न आग्रह

काठमाडौं । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईद्वारा माइतीघर मण्डलामा जारी आमरण अनशनप्रति राष्ट्रिय सभाका माओवादी केन्द्रका प्रमुख सचेतक गोपि आछामीले संसदमै विशेष ध्यानाकर्षण गराएका छन्। बुधबारको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आछामीले भट्टराईको सात बुँदे माग गम्भीर भएको भन्दै सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेका हुन्। उनले भने,‘ विश्व जलवायु परिवर्तनको असरलाई न्युनीकरण गरौँ, वन वातावरण प्रयावरणयुक्त सामाग्री प्रयोग गरौँ भन्ने मुल नाराका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई साउन ११ गतेदेखि माइतिघरमा साँत बुँदे मागसहित आमरण अनसन बसेका छन् , मेयर भट्टराईको माग सरकारले त्तत्काल समाधान गरोस् ।’

भट्टराई बाँस उद्योगको राष्ट्रिय प्राथमिकता, जलवायु क्षतिपूर्ति, प्रदूषण नियन्त्रण, पूर्वाधार निर्माण र वन्यजन्तु व्यवस्थापनसम्बन्धी मागसहित साउन ११ गतेदेखि अनिश्चितकालीन सत्याग्रहमा बसेका छन्। उनले “अब नेपालमा जनता जाग्नुको विकल्प छैन” भन्ने नारा लिएर वातावरणीय न्याय र स्थानीय अधिकार सुनिश्चित गर्न दबाव सिर्जना गरिरहेका छन्।

संसदमा आवाज उठाएकोमा प्रमुख सचेतक आछामीप्रति खोटाङबासीले आभार व्यक्त गरेका छन्। यसअघि सहरी विकास मन्त्रालयका अधिकारीहरूको टोलीले भट्टराईसँग माइतीघरमै प्रत्यक्ष भेटवार्ता गरेका थिए । सो भेटपछि मेयर भट्टराईको माग सम्बोधन गर्न विषयमा सरकार सकरात्मक रहेको छ ।

भट्टराईले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै माफी माग्नुपर्ने मागसमेत गरेका छन्। उनी “सरकारको लिखित सहमति र कार्यान्वयन बिना अनशन नछाड्ने” अडानमा छन्। अब सरकारको पहलले यो जनदबाबयुक्त आन्दोलन समाधानतर्फ मोडिन्छ कि उपेक्षित रहन्छ भन्ने प्रश्न उठेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *