काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरूको रकम यथाशीघ्र फिर्ता गराउन सरकारलाई गम्भीर ढंगले ध्यान दिन आग्रह गरेका छन्।
मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले सहकारी ठगीका घटनाले आम नागरिकको विश्वास गुमिरहेको भन्दै पीडितलाई राहत दिन प्रभावकारी नीति आवश्यक भएको बताए।
“कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरूको रकम फिर्ता गराउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” देउवाले भने, “वित्तीय सुशासन कायम गर्न र स्थानीय तहमा हुने भ्रष्टाचारजन्य गतिविधि न्यून गर्न कांग्रेसले निरन्तर दबाब दिँदै आएको छ।”
देउवाले मूल्यवृद्धि नियन्त्रण गरी जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता समेत जनाए। साथै, नेपालको वित्तीय क्षेत्रका विविध समस्या समाधान गर्न काँग्रेस दृढ रहेको उल्लेख गरे।




