देश

पर्यटन नीति २०८२ सार्वजनिक : निजी क्षेत्रसँग सहकार्यमा सरकार तयार – मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यलाई फराकिलो बनाएर अघि बढ्ने सरकारको योजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममार्फत ‘पर्यटन नीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, “सरकार समन्वय गर्न तयार छ, अब निजी क्षेत्र पनि आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।”

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको धारणा राखे। “परिणाम तब मात्र आउँछ जब निजी क्षेत्रले अग्रसरता देखाउँछ,” उनले भने, “सरकार साझेदारीमा सहायकको भूमिकामा रहनेछ।”

उनले संविधान जारीपछिको संघीय संरचनालाई सम्बोधन गर्दै मन्त्रालयले नीतिगत दृष्टिले नयाँ युगमा प्रवेश गरेको बताए।
हवाई नीति र संस्कृति नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलमा रहेको जानकारी दिंदै, उनले १३ वटा कानूनको प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए।

२०६५ सालको पुरानो नीति प्रतिस्थापन गर्दै ल्याइएको नयाँ नीतिमा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने अवधारणालाई नै रणनीतिक संरचना बनाइएको मन्त्री पाण्डेले बताए। उक्त नीतिअनुसार अब नियमावली र कार्ययोजना बनाइने र कार्यान्वयनमा परिणाममुखी प्रतिबद्धता रहने उनले स्पष्ट गरे।

कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीति प्रस्तुत गर्दै समयानुकूल नीतिगत सुधारको आवश्यकता औंल्याइन्।
उनका अनुसार, “पर्यटन क्षेत्रको दिगो विकास, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउने लक्ष्यसहित नीति निर्माण गरिएको हो।”

सरकारले निजी क्षेत्रलाई सहकार्यको मूल आधार बनाउँदै नयाँ पर्यटन नीतिको कार्यान्वयनमा गम्भीरता देखाएको छ। नीति कार्यान्वयनका क्रममा पूर्वाधार, सेवा गुणस्तर, र पर्यटकीय सम्भावनालाई सम्बोधन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा उभ्याउने सरकारको दृष्टिकोण प्रस्ट देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *