देश

प्रचण्ड–महिन्द्रबीच पार्टी एकताको खाका तयार, महाधिवेशनमै औपचारिक घोषणा हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच महाधिवेशनको समयमा पार्टी एकता गर्ने सहमति भएको छ। पछिल्लो राजनीतिक छलफलमा दुबै पक्षले एकताको लागि सहमति जनाएका हुन्।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण साह माओवादीमा प्रवेश गरेपछि अध्यक्ष यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए। त्यसपछि यादवले माओवादी अध्यक्ष प्रचण्डसँग सिंहदरबारमा भेट गरी पार्टी एकता टुंग्याउने विषयमा छलफल गरेका थिए।

यादवले पार्टीको नाम, झन्डा र संगठनात्मक संरचनाबारे निर्णय महाधिवेशनबाट गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “हामी एकताका लागि तयार छौं, महाधिवेशनमा सिङ्गो पार्टी एकता गरौं भन्ने प्रस्ताव राखेका छौं। यसमा अध्यक्ष प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ।” प्रचण्डले हाल माओवादी केन्द्रको जागरण अभियानू सकिएपछि केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने बताएका छन्।

यादवले स्मरण गरे, “पहिला बाबुराम भट्टराईले पनि प्रचण्डसँग एकता गर्न सहमति जनाउनुभएको थियो, तर बिचैमा छाडेर जानुभयो। पछिल्लो पटक गंगानारायणजी सहमतिमै माओवादीमा जानुभयो। अब हामी महाधिवेशनमा पार्टी एकता गर्न प्रतिबद्ध छौं।”

उनले पार्टीको नाम जे भए पनि महाधिवेशनबाट आउने निर्णय आफूहरूलाई मान्य हुने बताए। हालको सहमतिअनुसार, नेसपाले संगठन विस्तारलाई प्राथमिकता दिने तर राष्ट्रिय भेला वा छुट्टै महाधिवेशन नगर्ने स्पष्ट पारेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *