काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीको स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको बताएका छन् ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता बुढाथोकीले सम्बन्धित मन्त्रालयको सहजिकरणको लागि थालेको पहल बमोजिम असार १ गते देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गरिएको जानकारी दिए ।
उनले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई कार्यक्रममा आबद्ध गराउँदा बिमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, नेपालमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू छुट्टाछुट्टै ऐनबाट सञ्चालित रहेकोमा सबै प्रतिष्ठानलाई एकीकृत रुपमा सञ्चालनका लागि मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
उनले विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा मस्यौदा विधेयकको दफा, प्रस्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुस्ट्याइँसहितको ढाँचामा पठाउन सूचना प्रकाशन गरिएको बताए ।
उनले भने ‘स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनको सुझावको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारका राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउँदा स्वास्थ्य बिमा कोषमा पर्याप्त रकम जम्मा हुने । बिमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने भनी राखेको प्रस्तावअनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिएको छ । यो व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग सहजीकरणको लागि थालेको पहल बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य आबद्ध हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्रसहित असार १ गते देशभरका सबै गाउँपालिका तथा नगरपालिकाहरूलाई पत्राचार गरिसकेको छ ।
नेपालमा हाल स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू, छुट्टाछुट्टै ऐनबाट सञ्चालन भएको हुँदा एकरूपता हुन नसकेको कुरालाई मनन गरि सबै प्रतिष्ठानहरूलाई एकीकृत रुपमा सञ्चालन गर्न सोसम्बन्धी कानुन निर्माण गर्न आवश्यक भएकोले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्न मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको जानकारी गराउन चाहन्छु । एकीकृत स्वास्थ्य विज्ञानको विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा मस्यौदा विधेयकको दफा, प्रस्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुस्ट्याइँसहितको ढाँचामा पठाउनुहुन सूचना प्रकाशनसमेत गरिएको छ ।
पछिल्लो समयमा नेपालमा कोभिड सङ्क्रमणका घटनाहरू फाटफुट देखिएको छ । विशेषगरि भारतबाट फर्कनेहरूमा सीमा नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण गर्दा सङ्क्रमण देखिएको हो । नेपालमा यस वर्ष सन् २०२५ जनवरी १ देखि जुन १९ सम्म १ सय ६४ सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो एक सातामा ३३ वटा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा २५ जिल्लाबाट कोभिडको सङ्क्रमणका घटना रिपोर्ट भएका छन् ।’
सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनवरी १ देखि १९ सम्म एक सय ६४ र पछिल्लो एक सातामा ३३ वटा कोभिड सङ्क्रमण पुष्टि भएको जानकारीसमेत दिए ।




