काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उखु किसानलाई दिइँदै आएको उत्पादन(आधारित अनुदान रोकिएकोमा गहिरो आपत्ति जनाएका छन्। उनले सरकारको यो निर्णय किसानमाथिको अन्याय मात्र नभई चिनी उद्योगमा दलालहरूको प्रभाव बढेको संकेत हुनसक्ने आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कोइरालाले दुई दशकदेखि दिँदै आएको अनुदान बिना स्पष्ट कारण रोकिनु ‘आपत्तिजनक’ भएको टिप्पणी गरेका छन्। सरकारको निर्णय कतै चिनी विचौलियाको प्रभावमा परेर भएको त होइन ? भन्दै उनले सरकारको नियतमाथि पनि प्रश्न उठाएका छन्।
उनले चिनी उद्योग आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले किसानको भविष्य नै अन्धकारमा पार्ने खतरा देखिएको बताए। ूयो निर्णयले उखु किसान विस्थापित हुने बाटो खोल्छ, कोइरालाको आरोप छ। उखु उत्पादनको लागत, किसानको जीवन निर्वाह र घरेलु चिनी उद्योगको दिगोपनलाई हेर्दा अनुदान रोक्ने निर्णय ‘नीतिगत गल्ती’ मात्र नभई सामाजिक न्यायको पनि अवहेलना भएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।
सरकारले किसानलाई मार र विचौलियालाई लाभ हुने निर्णय किन गर्यो ? यो प्रश्न अहिले चिनी उद्योगसँगै कृषि नीतिमाथि पनि उठ्न थालेको छ। नेता कोइरालाको टिप्पणीले यो विषय थप चर्किने संकेत दिएको छ।




