राजनीति

नेता बस्नेतको टिप्पणी : ‘रास्वपा र नेकपा एसलाई नैतिकता सिकाउनुपर्छ, राजावादीको सम्पत्ति छानबिन होस्’

काठमाडौं। सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लाई नैतिकताको पाठ सिकाउनुपर्ने बताएका छन्। साथै उनले राजावादीहरुको सम्पत्ति छानबिनको मागसमेत गरेका छन्।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरिरहेका बेला बस्नेतले उल्टै रास्वपालाई नैतिकताको सवालमा प्रश्न उठाएका हुन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै बस्नेतले भने, “तपाईंहरूको पार्टी सभापतिलाई मुद्दा लागेको छ, पार्टी सभापति जेलमा हुनुहुन्छ। जेलमा बसेको व्यक्ति संसदीय दलको नेता बन्न सक्ने, सभापति पद नछोड्ने अनि हामीलाई नैतिकताको पाठ ? यो कुन नैतिकता हो ?”

उनले रास्वपा र नेकपा (एस) दुबै पार्टीले कांग्रेसलाई नैतिकताको पाठ पढाउने हैसियत नराख्ने तर्क गरे।

बस्नेतले राजावादीलाई लक्षित गर्दै विगतमा सत्ता सञ्चालन गरेका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने धारणा पनि राखे।
उनले भने, “३०–४० वर्ष शासन गरेका पञ्च र राजावादीहरूको महल हेर्नुस्, सम्पत्ति कहाँबाट आयो भन्ने छानबिन हुनुपर्छ।”

राजतन्त्रको पुनर्स्थापनाको सम्भावनालाई अस्वीकार गर्दै उनले भने, “गणतन्त्र हामीले ल्याएका हौं, राजा हामीले फालेका हौं। अब राजा फर्कन सक्दैन। अब राजा केवल तासको पत्तामा मात्रै हुन्छ।”

राजालाई विष्णुको अवतारको रूपमा व्याख्या गर्ने राजावादी प्रवृत्तिप्रति व्यंग्य गर्दै उनले थपे, “यदि राजा विष्णुको अवतार थिए भने मूर्ति र गजुर चोरिँदैनथ्यो, कोकिन र ड्रग्सको व्यापार हुन्नथ्यो। म पनि कट्टर हिन्दू हुँ, तर यस्ता कार्यहरू गर्नेले कसरी विष्णुको अवतार हुन सक्छ?”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *