राजनीति

रास्वपाले संसदमा पलेँटी कसेर विरोध जनाएपछि एमाले सांसदको नियमापत्ति

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले विरोधका क्रममा वेल घेराउ गर्दै पलेँटी कसेर बसेको शैलीलाई नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले संसदीय मर्यादाविपरीत भन्दै कडा आपत्ति जनाएका छन्।

बैठकमा संसदको नियमावली २० को ‘झ’ बुँदालाई आधार बनाउँदै सांसद पौडेलले विरोधका क्रममा उभिएर मात्रै प्रदर्शन गर्न मिल्ने उल्लेख गरे। उनले भने, “संसदीय परम्परा अनुसार विरोध उभिएर गरिन्छ, तर वेल घेराउ गर्दै चप्पल खोलेर ध्यान मुद्रा लिएर बस्ने शैली सभ्यताको सीमाभन्दा बाहिर जान्छ।”

पौडेलको आपत्ति संसदमा शैलीगत मर्यादा र विधिको सीमारेखाबारे पुनः बहसको विषय बनेको छ। उनको तर्क अनुसार पलेँटी कसेर बस्नु न त विधि अनुसार हो, न नै ‘विरोध’ को राजनीतिक शालीन स्वरूप। उनले सभामुखलाई आग्रह गर्दै संसदीय आचरण र मर्यादा कायम राख्न कडाइका साथ भूमिका खेल्न माग गरेका छन्। सभामुख देवराज घिमिरेले उक्त नियमापत्तिप्रति ध्यान दिइएको प्रतिक्रिया दिएका छन्। उनले भने, “संसदभित्रको कुनै पनि गतिविधि मर्यादित, उत्तरदायी र परिपक्व हुनुपर्छ। सदस्यहरूको शैली र प्रस्तुति पनि त्यसअनुरूप हुनुपर्छ।”

रास्वपाको पलेँटी शैलीलाई कतिपयले सांकेतिक शान्तिपूर्ण आन्दोलनका रूपमा हेरेका छन् भने, कतिपयले यसलाई संसदीय अव्यवस्था को प्रतीक मानिरहेका छन्। सांसद पौडेलको नियमापत्तिले संसदमा विरोधको भाषाशैली, शारीरिक हाउभाउ र विधिको औपचारिकताबीचको द्वन्द्वलाई पुनः उजागर गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *