देश

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८३ सालको मङ्सिरअगावै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ क्षेत्र नं. ६ (प्रदेश–क) को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले “२०८४ को निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने भ्रममा नपर्नुहोस्,” भन्दै सबै शीर्ष नेताको सहमतिमा महाधिवेशन समयमै गरिने बताए। “शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, म (गगन थापा) र विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने पनि त्यो २०८३ मङ्सिरअगावै हुन्छ,” उनले भने।

महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशभरका पार्टी क्रियाशील सदस्यको नवीकरण प्रक्रिया पूरा गरिने जानकारी दिए। त्यसपछि नयाँ क्रियाशील सदस्यता खुला गरिने उनको भनाइ थियो। पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गर्नुपर्ने धारणा पनि उनले राखे।

कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पार्टीभित्र विद्यमान गुटगत राजनीति अन्त्यको आवश्यकता औंल्याए। कांग्रेसको संगठन निर्माणमा कार्यकर्ताको भूमिका महत्वपूर्ण रहने भन्दै उनले युवा पुस्तालाई सक्रिय हुन आह्वान गरे।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं. ६ (प्रदेश–क) का सभापति ख्यामराज तिवारीले पार्टीलाई बलियो बनाउन हरेक कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *