राजनीति

माओवादीलाई निधिको आग्रह- संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा चल्न दिनुस्

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् ।

 

आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको बताए । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन आग्रह गरे । उनले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताए ।

 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको बताए ।

सांसद निधिले भने ‘संसद अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्ने रहेको छ । म के अपिल गर्न चाहन्छु, राधेश्यामजीको निरर्थक हत्या भयो । १० वर्षपछि निधन भएपनि । संसदलाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म माओवादीसँग आग्रह गर्न चाहन्छु । यहाँ छानबिन हुँदैछ । अख्तियारले छानबिन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा । रास्वपाका नेताको जस्तो विषय होइन यो ।

रास्वपाको नेतालाई त छानबिन गर्दै गर्दा अनुसन्धान गर्दैगर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईँमाथि यस्तो भनिएको छ, तपाईँ किन बोल्नुहुन्न भन्ने तर्क तपाईँको यसमा लागू हुँदैन । तर्क नै छैन । छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा होइन । माओवादी नेताहरूलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहिँ लचक हो थाहा छैन । अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईँहरू आइसक्नुभएको छ । संसदीय प्रणालीको अनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’

उनले राजा फर्काउने कुरा निरर्थक रहेको बताए । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिएको बताए । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *