भक्तपुर। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारप्रति चौतर्फी आक्रमण भइरहेको भन्दै त्यसको प्रत्युत्तर सत्य तथ्यका आधारमा दिनुपर्नेमा जोड दिएका छन्।
एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागद्वारा भक्तपुरको डोलेश्वरमा आयोजित प्रदेशस्तरीय प्रचार कार्यशालामा महासचिव पोखरेलले सामाजिक सञ्जालको दुरुपयोगमार्फत पार्टी र सरकारप्रति भ्रम फैलाउने काम भइरहेको बताए।
“सरकारको नेतृत्वमाथि आक्रमण भइरहेको छ, नेतामाथि प्रहार भइरहेको छ,” पोखरेलले भने, “प्रचार विभागले यी भ्रम र आक्रमणलाई चिर्दै सत्य सूचनालाई जनतासमक्ष पुर्याउनुपर्छ।”
उनी अनुसार, मुलुकको समृद्धि, सुशासन र विकासको नेतृत्व गर्न सरकार अग्रसर छ। “विकासशील राष्ट्रमा प्रवेश गर्ने १० देशमध्ये नेपाल पहिलो नम्बरमा रहेको छ,” उनले दाबी गरे।
महासचिव पोखरेलले आगामी निर्वाचन लक्ष्यित ‘मिसन ८४’ लाई सफल पार्न पार्टीका कार्य, योजनाहरू आम नागरिकसम्म पुर्याउन प्रभावकारी प्रचार आवश्यक रहेको बताए।
कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सूचना प्रविधि, एआई, सामाजिक सञ्जाल र मल्टिमिडियाको प्रभावकारी प्रयोगमार्फत सत्य तथ्य जनतासमक्ष पुर्याउनुपर्ने बताए।
त्यस्तै, प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा र प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले पार्टी नेतृत्व तथा सरकारमाथि भइरहेका गलत प्रचारका विरुद्ध प्रतिकार गर्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको उपयोग गर्नुपर्नेमा जोड दिए।
कार्यशालाको पहिलो दिन विष्णु रिजाल, मातृका पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रशिक्षण दिए भने दोस्रो दिन राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली र भक्तकुमारी लामाबाट प्रशिक्षण हुने आयोजकले जनाएको छ।




