देश

नक्कली शरणार्थीदेखि पतञ्जली काण्डसम्म: संसदमा चार निलम्बन, एक फरार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रतिनिधिसभाका थप दुई सांसद जेठ महिनामै निलम्बनमा परेका छन्।

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले बिहीबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्।

यसअघि जेठ १ गते अख्तियारले नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्तासँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो।

माधवकुमार नेपाल र मोहनबहादुर बस्नेतसँगै हाल प्रतिनिधिसभाका चार सांसद निलम्बनमा परेका छन्। २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमध्ये चार जनाको पद हाल निलम्बनमा छ।

निलम्बनमा परेका सांसदहरू:
रवि लामिछाने (रास्वपा): सम्पत्ति शुद्धीकरण मुद्दा दर्तापछि २०८१ पुस ८ गतेदेखि निलम्बन
टोपबहादुर रायमाझी (नेकपा एमाले): नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्तापछि २०८० असार १ गतेदेखि निलम्बन
मोहनबहादुर बस्नेत (नेपाली कांग्रेस): टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुद्दा दर्तापछि २०८२ जेठ १ गतेदेखि निलम्बन
माधवकुमार नेपाल (नेकपा एकीकृत समाजवादी): पतञ्जली जग्गा प्रकरणमा मुद्दा दर्तापछि २०८२ जेठ २२ गतेदेखि निलम्बन
फरार सांसद:
गीता बस्नेत (राप्रपा): सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि २०८१ वैशाख १४ गतेदेखि फरार। नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *