काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताएका छन् ।जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिए ।
सभापति देउवाले काँग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए । उनले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए ।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गरे । ‘काँग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुशी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ? कतिपय कुराहरुमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’ उनले प्रश्न गरे ।
वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गरे ।




