काठमाडौं । नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्न बसेको राजावादीको वैठक कार्यकर्ताको होहल्लाका कारण बिथोलिएको छ। राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई खोज्दै कार्यकर्ताले होहल्ला गरेपछि आन्दोलनका नयाँ कार्यक्रम घोषणा नगरी वैठक स्थगित भएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भएको हो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक लिएर सम्बोधन गरेका थिए।
उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका छन्। उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए । भेला सुरु भएलगत्तै लिङदेनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङदेन अहिले संसदमा छन्। कार्यकर्ताहरुले भने यहि संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखेका छन्।




