देश

कमलादीमा राजावादी र वाइसीएल समर्थकबीच तनाव, प्रहरीले स्थिति नियन्त्रणमा ल्यायो

काठमाडौं । दिवंगत राजपरिवारप्रति श्रद्धाञ्जली स्वरूप आयोजित दीप प्रज्वलन कार्यक्रममा अप्रत्याशित रूपमा ठूलो भीड भेला भएपछि काठमाडौंको कमलादी क्षेत्र तनावग्रस्त बनेको छ। पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाहको उपस्थितिका कारण कार्यक्रमप्रति आम सर्वसाधारणको चासो बढेको थियो।

त्यसैबेला नजिकै रहेको प्रज्ञा भवनमा माओवादी निकट वाइसीएलको भेला चलिरहेका कारण सुरक्षा संवेदनशीलता झनै बढेको हो। भीड व्यवस्थापन गर्न प्रहरीको उपस्थिति कमजोर देखिएपछि हिमानी र हृदयन्द्रलाई मन्दिर प्रवेश गराउन स्वयंसेवकहरूलाई निकै कठिनाइ भएको थियो।

दीप प्रज्वलनको बीचमा वाइसीएल कार्यकर्ता बाहिरिएपछि उनीहरू र राजसंस्थाका समर्थकबीच भनाभन सुरु भएको थियो। वाइसीएल कार्यकर्ताले राजावादी नाराको विरोध जनाएपछि स्थिति झनै तानावपूर्ण बन्दै गयो।

तत्कालै प्रहरीले हस्तक्षेप गर्दै दुबै समूहलाई अलग–अलग दिशामा सारेर भिड नियन्त्रणमा लिएको छ। अहिले कमलादी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। घटनालाई लिएर प्रहरी सतर्क रहँदै सुरक्षाकर्मीको संख्या थप गरिएको जनाइएको छ।

सुरक्षा निकायका अनुसार स्थिति अहिले नियन्त्रणमा रहेको छ भने कुनै ठूलो अप्रिय घटना भने नभएको पुष्टि गरिएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *