राजनीति

विपक्षी दलहरूले बजेट पारित गर्न सहजीकरण गर्नेमा विश्वस्त छौँ : काँग्रेस

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले संसद्मा प्रश्तुत भएको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।

शुक्रवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे यस्तो बताएका हुन् ।

उनले बिहीवारको संसद बैठकमा प्रश्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिए । उनले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व रहेकोले उक्त दायित्व पूरा गर्ने विषयमा प्रतिपक्षी दलहरूले जिम्मेवारी बोध गरी सहजीकरण गरेको जिकिर गरे ।

उनले बजेटलाई पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकोले विपक्षी दलहरूले बजेटको सेसनलाई अगाडी बढाउने कुरामा सहजीकरण गर्नेमा आफूहरूले विश्वास लिएको बताए । ‘प्रतिपक्षीलाई धन्यवाद छ, हिजोको बजेट प्रश्तुतिलाई सहजीकरण गर्नुभयो । जेठ १५ मा बजेट ल्याउने जुन संवैधानिक दायित्व थियो, उक्त संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरूले आफ्नो जिम्मेवारी बोध गरेर सहजीकरण गर्नुभयो । त्यसको लागि धन्यवाद छ । बजेटलाई पारित गर्नुपर्ने कुरा पनि संवैधानिक दायित्वभित्र नै पर्छ । त्यो संवैधानिक दायित्वको बोध गरेर उहाँहरूले बजेटको सेसनलाई अगाडी बढाउने कुरामा सहजीकरण गर्नुहुनेछ र उक्त वातावरण निर्माण गर्नुहुनेछ भन्ने हामी विश्वास गर्छौं’ उनले भने ।

उनले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रहेको बताए ।

उनले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर क्यालेण्डर बनाउने विषयमा मोटामोटी सहमति भएको समेत जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *