काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०८२ प्रतिनिधिसभामा पेस गरेका छन्। यो प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानको समग्र अवस्था, उपलब्धि, सञ्चालनका चुनौती र सुधारका क्षेत्रहरूलाई समेटेको छ।
सार्वजनिक संस्थानको वर्तमान स्थिति
नेपालमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालित छन्। यीमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् भने २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा २.२० प्रतिशतले वृद्धि भई रु २९ खर्ब १० अर्ब १७ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई रु सात खर्ब तीन अर्ब ९३ करोड पुगेको छ। यसमध्ये शेयर लगानी रु तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु तीन खर्ब ३९ अर्ब सात करोड रहेको छ।
नाफा र नोक्सानीको अवस्था
आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय रु छ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।
सञ्चालनमा रहेका ४५ वटा संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र दुई वटा बन्द भएका छन्। आव २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो। नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु तीन अर्ब ६३ करोड रहेको छ।
नाफामा रहेका संस्थानको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।
सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रु १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा रु आठ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ। कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात आव २०८०/८१ मा २.४ प्रतिशत रहेको छ।




