देश

चीनको नजरमा भण्डारी ‘वरिष्ठ नेतृ’, वाम एकताका लागि अगुवाइको प्रस्ताव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले उनलाई नेपालका वरिष्ठ नेतृको रुपमा उच्च सम्मान दिएका छन्। बेइजिङमा आयोजित राजनीतिक संवादमा भण्डारीलाई नेपालको वामपन्थी आन्दोलनको नेतृत्व गर्न सुझाव दिइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सीसीपी० को अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ झियाचाओसहित नेताहरूले भण्डारीलाई भेट्दै नेपालका वामपन्थी दलहरूबीच एकता आवश्यक रहेको र त्यो एकताको नेतृत्व उनीबाट अपेक्षित रहेको संकेत गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार, चिनियाँ नेताहरूले पूर्वराष्ट्रपतिलाई ूविशिष्ट र वरिष्ठ नेतृू को रूपमा चिनाएका छन्। थापाले बेइजिङबाट भने, भण्डारीमाथि चिनियाँ नेताहरूको गहिरो विश्वास देखियो। उनीहरूले स्पष्ट रूपमा भने — तपाईंले नेपालका कम्युनिष्टहरूको एकता सम्भव बनाउन सक्नुहुन्छ।

चीनको १० दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी भण्डारी आइतबार राजधानी बेइजिङ पुगिन्। त्यहाँ उनले सीसीपीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशहरूका राजनीतिक दलसँगको संवाद सम्मेलनमा सम्बोधन पनि गरिन्।

भण्डारीले सम्मेलनमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइन्। साथै, उनले वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानबारे पनि चर्चा गरिन्।

पूर्वराष्ट्रपतिलाई चीनमा सरकार प्रमुखसरह सम्मान दिइएको छ। विशेष स्वागत समारोहमा चिनियाँ अधिकारी र कम्युनिष्ट नेताहरूले उनलाई बेइजिङ र ग्वान्जाओमा स्वागत गरेका थिए। चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भण्डारीको व्यक्तिगत सम्बन्ध सुमधुर रहँदै आएको जनाइएको छ।

भ्रमण दलमा नेकपा एमालेका शीर्ष नेतादेखि मन्त्री, सांसद, फाउण्डेशन प्रतिनिधिहरू, सुरक्षा टोली र सञ्चारकर्मीसमेत समावेश छन्। प्रमुख सदस्यहरूमा विदेश विभाग प्रमुख रघुवीर महासेठ, मन्त्री दामोदर भण्डारी, कर्ण थापा, गोमा देवकोटा, देवीप्रकाश भट्टचन, मदन भण्डारी फाउण्डेशनका कार्यकारिणी सदस्यहरू, नेपाल टेलिभिजनका प्रतिनिधि र नेपाली सेनाका सदस्यहरू छन्।

यो भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ कूटनीतिक आयाम थपेको देखिएको छ भने पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भूमिका पुनः सक्रिय हुनसक्ने संकेत पनि देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *