धनगढी। कञ्चनपुरका डिभिजन वन प्रमुख रामविचारी ठाकुरमाथि आज मोसो दलेर एक समूहले दुर्व्यवहार गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको कार्यकक्षमै उनीमाथि अपरिचित व्यक्तिको समूहले दुर्व्यवहार गरेको हो। ठाकुरमाथि मोसो दलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो भिडियो कम्युनिस्ट युवा सङ्गठन नेपाल नामक फेसबुक पेजमा राखिएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। भिडियो दुर्व्यवहार गर्ने व्यक्तिहरूले नै खिचेको भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले भने, “भ्रष्टाचार कि के गरेको भनेको जस्तो भिडियोमा सुनिन्छ।”
उनले डिभिजन वन प्रमुख ठाकुरले तीन जना मान्छे आएको भने पनि प्रहरी जाहेरीमा चार जना मान्छे घटनामा संलग्न रहेको उल्लेख गरे। संलग्न व्यक्तिहरू चाँडै पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
भिडियो हालेको कम्युनिस्ट युवा सङ्गठन नेपालले ठाकुरलाई जनकारबाही गरेको आफ्नो पेजमा उल्लेख गरेको छ। त्यस्तो गर्नुको कारण भने खुलाइएको छैन।




