लमजुङ। तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको विवादपछि खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता भएको छ। घटना भएको चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा सोमबार जाहेरी दर्ता भएको प्रहरीले जनाएको हो।
पीडितका तर्फबाट मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दर्ता भएको हो। संस्थापन इतर समूहका युवाले अधिवेशन वैधानिक नभएको भन्दै रोक्न खोजेपछि भएको वादविवादमा संस्थापन पक्षका युवाले खुकुरी प्रहार गरी युवाहरूलाई घाइते बनाएका थिए।
घटनाको विवरण र घाइतेहरूको अवस्था
तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन शनिबार बेँसीसहरमा चलिरहँदा संस्थापन इतर पक्षले नाराबाजी गर्दै अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका थिए। उद्घाटन सत्र चलिरहँदा भएको नाराबाजीपछि युवाहरूबिच वादविवाद बढ्दै जाँदा संस्थापन पक्षका युवाले खुकुरी र रड प्रयोग गर्दा गम्भीर घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ।
बेँसीसहर नगरपालिका–९ का वडा अध्यक्षसमेत रहनुभएका खुसीजंग गुरुङ तरुण दल लमजुङका क्षेत्रीय सभापति हुनुहुन्छ भने सुदीप अधिकारी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ। घटनामा घाइते हुनुभएका लमजुङ कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र नेपाल तरुण दल लमजुङका सदस्य शङ्कर सापकोटा प्रदेश अस्पताल लमजुङमा उपचारपछि घर फर्कनुभएको छ।
प्रहरीको भूमिका र अनुसन्धान
घटनापछि संस्थापन पक्ष मुद्दा दर्ता नगरी आन्तरिक रूपमा मिलाउने प्रयासमा रहेको थियो भने संस्थापन इतर पक्ष मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने पक्षमा रहेको थियो। उक्त घटनापछि सामाजिक सञ्जालमा दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रँदै आएका छन्।
घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा शनिबार नै जाहेरी दिए पनि प्रहरीले सोमबार मात्रै दर्ता गरेको हो। जाहेरीको भाषा नमिलेकाले सच्चाएर ल्याउन लगाई दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिए। घटनापछि प्रहरीले हतियार खोसे पनि व्यक्तिलाई पक्राउ नगरेको भनेर आलोचना भइरहेको छ। प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले मुद्दा दर्तापछि घटनाका आरोपितहरूको खोजी भइरहेको जानकारी दिए।




