देश

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर।मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ अवसरमा आज जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा कपुरको वृक्षरोपण गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

वृक्षरोपणपछि आयोजित कार्यक्रममा सभामुख यादवले परम्परागत चाडपर्वहरूलाई वातावरणमैत्री गतिविधिसँग जोड्नु समयको आवश्यकता भएको उल्लेख गर्दै वृक्षरोपणले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। उनले मिथिला क्षेत्रका मौलिक संस्कार र संस्कृतिसँग प्रकृति संरक्षणको गहिरो सम्बन्ध रहेकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले नगरलाई हरित र स्वच्छ बनाउने लक्ष्यअनुरूप वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखिएको बताए। उनले जुडशितलजस्ता पर्वले सामाजिक एकता र वातावरणीय चेतना दुवै प्रवर्द्धन गर्ने भएकाले यस्ता कार्यक्रमलाई व्यापक बनाइने जानकारी दिए।

मेयर साहले नगर क्षेत्रका सार्वजनिकस्थल, सडक किनार र जलाशय आसपास हरियाली विस्तार गर्न योजनाबद्ध रूपमा वृक्षरोपण अभियान सञ्चालन गरिने उल्लेख गर्दै स्थानीयवासीलाई पनि यसमा सहभागिता जनाउन आह्वान समेत गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *