काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदको वास्तविकता राज्यले लुकाउन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै परियारले विभेदको अस्तित्व अस्वीकार गरेर वास्तविकता ढाकछोप गर्न खोजिएको भन्दै कडा आलोचना गरे।
उनले भने, जातीय विभेद छैन भनेर राज्यले सत्यलाई लुकाउन खोज्दैछ। हामी दिउँसै रात पार्न खोजिरहेका छौँ। सत्यलाई ढाकछोप गरेर न्याय दिनुपर्ने दायित्वबाट भाग्न खोजिएको छ। सांसद परियारले नेपाली समाजमा विद्यमान समस्याको सही पहिचान गर्न राज्य असफल भएको टिप्पणी गरे। उनले राज्यले विभेद छैन भनेर मुनासिब कदम नचाल्दा नागरिक र सरकारबीचको सम्बन्ध कमजोर बनेको उल्लेख गरे। जब राज्यले वास्तविक समस्यालाई देख्दैन, तब समाधानको बाटो पनि बन्द हुन्छ, परियारले थपे।
परियारले संविधानले लिपिबद्ध गरेका अधिकारहरूको कार्यान्वयन गर्न पर्याप्त बजेटको आवश्यकता रहेको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा यसलाई समेट्न सरकारलाई आग्रह गरे। उनले बजेटमार्फत जातीय विभेद अन्त्य गर्ने र सामाजिक न्यायको प्रत्याभूति गराउन सरकारलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिए। सांसद परियारको वक्तव्यले जातीय विभेदको अन्त्यका लागि नीतिगत सुधार र ठोस कार्यान्वयनको माग गर्दै राज्यप्रति गम्भीर प्रश्न उठाएको छ।




