बेनी (म्याग्दी)। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा पुगेको छ। संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएपछि भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका प्लान्ट म्यानेजर विनोद पौडेलले जानकारी दिए।
उनका अनुसार बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ। विद्युत्गृहमा टर्बाइन लगायतका मेसिन उपकरण जडान गरी आवश्यक परीक्षण सम्पन्न भइसकेको उनले बताए। आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न आठ किलोमिटर लामो प्रसारण लाइन निर्माणाधीन छ। आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।
कुइनेमंगले र चिमखोलाको सीमा क्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइपमार्फत ल्याइने पानी छरीस्थित रघुगङ्गा नदी किनारमा निर्मित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। यस आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ।
गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ। ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ। आयोजनाको सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले र इलेक्ट्रोमेकानिकलतर्फ टोयर हाइड्रोले ठेक्का लिएका थिए।




