काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादव एक हल्दी समारोहमा पेस्तोल पड्काएको घटनाले चर्को चर्चा पाएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी अनुसन्धानको दायरामा परेकी सिंहले उक्त हवाई फायर सर्लाहीकै मलंगवामा गरेको पुष्टि भएको छ।
११ वैशाखमा मलंगवा–२ निवासी वसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहअघि आयोजना गरिएको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको भिडियो भाइरल भएको थियो। भिडिओमा उनीसँग अन्य मानिसहरू पनि नाचिरहेका देखिन्छन् र एक राउन्ड पेस्तोल फायर गरेपछि धुवाँ निस्किएको दृश्य देखिन्छ।
भिडिओ बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सिंहलाई सोधपुछका लागि बोलाएको थियो। सोधपुछपछि सर्लाही प्रहरीलाई जानकारी गराइयो। अनुसन्धानपछि मलंगवा–२ स्थित अञ्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार, बरामद गरिएको पेस्तोल ‘बारुद मात्र पड्किने’ (ब्ल्याङ्क फायर) किसिमको हो। तर, सार्वजनिक स्थानमा यस्तो कार्य गर्नु गैरजिम्मेवार र कानुनविपरीत भएको भन्दै थप अनुसन्धान भइरहेको छ।
बबी सिंहले सुरुमा घटना भारतको सीतामढीमा भएको दाबी गरेकी थिइन् र पेस्तोल ‘खेलौना’ मात्र भएको बताएकी थिइन्। तर, घटनास्थल सर्लाहीमै भएको पुष्टि भएपछि सामाजिक सञ्जालमा उनको कथनप्रति प्रश्न उठ्न थालेको छ।
नेतृ सिंह राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी तथा जसपा नेपालकी उपाध्यक्ष पनि हुन्। पार्टीका एक नेतृबाट सार्वजनिक कार्यक्रममा पेस्तोल प्रहार हुनु र त्यसको ढाकछोप प्रयास गर्नु आफैंमा राजनीतिक र सामाजिक हिसाबले विवादास्पद बनिरहेको छ।




