जलश्रोत/उर्जा

देशभर लोडसेडिङ छैन, हल्लाको पछि नलाग्नुस् : प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। सामाजिक सञ्जालमा विद्युत् आपूर्तिबारे भ्रम फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले त्यस्ता अतिरञ्जित हल्ला भ्रामक भएको बताएको छ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने जानकारी दिएको हो। प्राधिकरणका अनुसार देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट पुगेको छ। आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट रहेकोमा उच्च माग २,०७७ मेगावाट पुगेको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले गर्मी याम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समय आपूर्ति गरिँदै आएको स्पष्ट पारेको छ। प्रि–मनसुनका कारण आँधी, हुरी, चट्याङ र वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने तथा मर्मतसम्भार र निर्माण कार्यले पनि कतै कतै विद्युत् बन्द हुने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ। यस्ता अवरोधबारे अग्रिम सूचना दिइँदै आएको पनि प्राधिकरणले उल्लेख गरेको छ।

औद्योगिक ग्राहकलाई भने बेलुकाको समयमा खपत घटाउन आग्रह गरिएको छ। नदीमा बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै प्राधिकरणले सबै उपभोक्तालाई धैर्य, सहयोग र सद्भावका लागि धन्यवाद दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *