धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटीका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ।
परिवारका अन्य सदस्यसहित शाह चढेको गाडी भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको खुटारमा बससँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका शाहको भारतको शाहजहाँपुरस्थित अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। शाहजहाँपुरमा तीन जनाको उपचार भइरहेको बताइएको छ।
यसैगरी, दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि धनगढीतर्फ ल्याइँदै गरेको जनाइएको छ। सचिव सुनारका अनुसार दुर्घटनामा घाइते महामन्त्री शाहको अवस्था खतरामुक्त रहेको छ।
यद्यपि, कैलाली प्रहरीले भने दुर्घटनाबारे औपचारिक जानकारी नआएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले दुर्घटनाको बारेमा आफूलाई थाहा नभएको बताए।




