
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको जोडदिए । उनले भने- ‘काठमाण्डौमा तपाई हामी बसेर नीति निर्माण गर्ने हो । तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो ।’
उनले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरु राख्नुपर्छ । प्रत्येक पालिकमा गोदामघर बनाऔं, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नी त्यो कार्यालयको एउटा कोठालाई गोदामघर बनेर तोकिदिए हुन्छ । त्यसमा आधारभूत सामाग्री राखौं । ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौं । तर आधार स्थानीयलाई बनाऔं । हामी सबै त्यसमा जट्नुपर्छ ।’
उनले चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिदै काठमाण्डौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । उनले भने- ‘प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्वल झिक्न पनि काठमाण्डौंमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिती थियो । अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गरिँने काम भएको छ ।’
विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उनको भनाई थियो । उनले भने- ‘विपद्काको विषय सम्बोधन हुनुका लागि पूर्वसूचना समयमा हुनुपर्यो । विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुर्नस्थापन महत्वपूर्ण विषय हुन ।’
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित भएर हुनुपर्नेमा जोड दिए । उनले भने- ‘तपाईहरुले सिकेका ज्ञान, सिप अनुभवले यो क्षेत्रलाई व्यवस्थीत गर्न, नागरिकलाई यो जोखिमबाट जोगाउने काम गर्न सक्छौं । त्यसका लागि संगठित रुपले अगाडी बढ्न सके परिणाम दिनेछ । जोखिम न्युनीकरण गर्न काम गर्न सकिन्छ ।’