म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। आयोजनाको भौतिक संरचना निर्माण सकिएपछि अहिले परीक्षण थालिएको छ। आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेका अनुसार निर्माण भएका भौतिक संरचनाको परीक्षण भइरहेको छ र यही महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने तयारी गरिएको छ।
“बाँधदेखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ,” उनले भने, “भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकिएर परीक्षणको काम अन्तिम चरणमा पुगेको छ।”
निर्माण कम्पनीले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँधदेखि विद्युतगृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ।
रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ। सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो। पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित वि.सं. २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्याउँदा कार्यतालिका प्रभावित बनेको थियो। जनसम्पर्क अधिकृत पाण्डेले अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जानकारी दिए।
रु एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। यस आयोजनाले नारच्याङको बेशीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ। आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको वडा सदस्य श्याम पुर्जाले बताए।




