काठमाडौं । जनकपुरको ऐतिहासिक गंगासागर पोखरी नजिकै निर्माणाधीन स्व। रामनारायण मिश्र स्मृति भवनको काम तत्काल रोक्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ।
न्यायाधीश राजुराम सिलवालको इजलासले स्मृति भवन निर्माण कार्यलाई यथास्थितिमा राख्न र अगाडि नबढाउन आदेश दिएको हो। स्मृति भवन वैशाख ३ मा नगर उपप्रमुख किशोरी साहको अगुवाइमा शिलान्यास गरिएको थियो, तर त्यस दिन नै स्थानीयको विरोध र तोडफोडपछि निर्माण विवादित बनेको थियो।
भवनका लागि ५ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ठेक्का दिइएको थियो। तर, गुठी संस्थानले सुरुमै निर्माण रोक्न निर्देशन दिएको भए पनि पछि ुपोखरीमा असर नपर्नेु भन्दै पत्राचार गरी निर्माण अनुमति दिएको थियो।
उक्त अनुमति र शिलान्यासपछि महेन्द्र प्रसाद साहले अदालतमा मुद्दा हालेका थिए। अदालतले सार्वजनिक सम्पदा क्षेत्रको मापदण्डअनुसार पोखरीको डिलबाट कम्तीमा ५ मिटर खाली राख्नुपर्ने नियम उल्लंघन भएको भन्दै काम रोक्न आदेश दिएको हो।




