काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले उक्त प्रतिवेदन पारित गर्दै संघीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन्।
प्रतिवेदनमा गत एक वर्षको अवधिमा समितिले गरेका विभिन्न कार्यहरू, विधेयकहरूमाथिको छलफल, संशोधन र पारित प्रक्रिया, साथै विभिन्न स्थानमा गरिएको स्थलगत अनुगमनका विवरणहरू समावेश गरिएको छ। सभापति सुवेदीका अनुसार यस वर्ष समितिले संघीय संसद्बाट जारी भएका कानुनहरूको कार्यान्वयनको अवस्था र हिरासतमा रहेका थुनुवाहरूको मौलिक हकको सुनिश्चितता, कैदीबन्दी तथा बालसुधार गृहमा मानवअधिकारको अवस्था जस्ता विषयमा स्थलगत अनुगमन गरेको थियो।
आगामी दिनमा समितिले देशका विभिन्न मध्यवर्ती क्षेत्रका जनताको मानवअधिकार सम्बन्धी विषयमा स्थलगत अनुगमन गर्ने तयारी गरिरहेको सभापति सुवेदीले जानकारी दिइन्।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदीय समितिले दिएका सुझावहरूका आधारमा मन्त्रालयले कानुन संशोधनको तयारी गरिरहेको बताए। उनले केही कानुनहरू संशोधनका लागि अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।




