राजनीति

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा वैशाख ७ मा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापनाको माग गर्दै आउँदो वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले आफ्ना नेताहरूको रिहाइको मागसमेत राखेको छ।

आज बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए। वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए। लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं। राजेन्द्र लिङदेन थुनिन तयार छ।’ राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ।

बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ। पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र कानुनी एवं राजनीतिक लडाइँलाई निरन्तरता दिने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको राप्रपाले जानकारी दिएको छ।

आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्‍याउने निर्णय भएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने जानकारी दिए। राप्रपाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *