राजनीति

तत्काल सरकारमा जाने मनस्थिति छैन : माधवकुमार नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टी अहिले जनतामा जाने र जनताका समस्या बुझ्ने काममा केन्द्रित रहेको बताए।

उनले भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन। जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ।” उनले अहिले पार्टीका कमीकमजोरी सुधार गरेर अघि बढ्ने समय रहेको बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए। उनले भने, “राजतन्त्र ल्याएर फाइदा छैन। व्यक्तिविशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिन्छ।”

अध्यक्ष नेपालले नेपालीहरू आफ्नो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमान र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्षम रहेको बताए। शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दछु। विद्यार्थीको भविष्यसँग जोडिएको विषय छ। यसलाई सरकारले समाधान गर्न तदारुकता देखाउनुपर्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *