लुम्बिनी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्।
पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा बुधबार साँझ रुपन्देही आइपुगेका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस सेन्टर नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको विषय उठाए पनि अहिले त्यसमा चासो नदिएको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, “राजनीतिक स्थिरताका लागि संविधान संशोधन जरुरी छ। संविधान जारी भएको १० वर्षमा समीक्षा गरी संशोधन गरिनुपर्दछ। संविधान संशोधन जनताका अधिकार कुण्ठित गर्न होइन, बरु थप अधिकार सुनिश्चित गर्नका लागि हो र हामी यसमा प्रतिबद्ध छौँ।”
अध्यक्ष प्रचण्डले वर्तमान सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि नरहेको स्पष्ट पारे। उनले जनताका अधिकारलाई स्थापित गर्न र आम नागरिकका दुःख बुझ्नका लागि माओवादी केन्द्रले देशव्यापी जागरण अभियान सञ्चालन गरिरहेको बताए। गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानअन्तर्गत हुलाकी राजमार्गको यात्राका क्रममा किसान र सहिद–बेपत्ता परिवारका समस्याहरू प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिलेको उनले जानकारी दिए।
उक्त अभियानले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुर्याउने विश्वास प्रचण्डले व्यक्त गरे। राजावादीहरूको पछिल्लो आन्दोलनलाई ‘अराजकतावादीहरूको भीड’ को संज्ञा दिँदै उनले गणतन्त्र र यसले ल्याएका उपलब्धिहरूविरुद्ध हुने कुनै पनि आन्दोलनलाई परास्त गर्न माओवादी कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यकता औंल्याए।




