देश

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह

जनकपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन्।

आज जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र स्थापनामा स्वर्गीय मिश्रले गरेको सङ्घर्षको स्मरण गरे। उनले मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताए।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित गङ्गासागर पोखरीको पूर्वतर्फको डिलमा स्वर्गीय मिश्रको सालिक निर्माण कार्य सुरु हुँदा स्थानीय केही व्यक्तिले विरोध जनाएका छन्। सालिक निर्माण हुने जग्गा स्वर्गीय मिश्र परिवारकै रहेकोले उक्त कार्यमा अवरोध नगर्न नेता निधिले आग्रह गरे।

नेपाली कांग्रेसका नेता प्रफुल्लराज घिमिरेले पनि स्वर्गीय मिश्रको सालिक निर्माणमा गलत राजनीति नगर्न र उनको योगदानको कदर गर्न सबैलाई आग्रह गरे।

स्वर्गीय मिश्र विसं २०१५ मा भएको निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाबाट निर्वाचित भई बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योगमन्त्री थिए। उनको कार्यकालमा जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना र बाँसबारी छाला उद्योगसहित दर्जनौं उद्योग स्थापना भएको बताइन्छ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि मिश्रलाई लामो समयसम्म जेलमा बन्दी बनाइएको थियो। उनको निधन विसं २०२७ पुस ६ गते भएको थियो।

हाल सालिक निर्माण गर्ने भनिएको स्थलमा प्रत्येक वर्ष उनको पुण्यतिथि मनाउने गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सालिक निर्माणका लागि बजेट विनियोजन गरी कार्य अगाडि बढाएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *