काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको तयारी भइरहेका बेला निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि मसी प्रहार भएको छ। नेपाल विद्यार्थी संघका बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले गौतममाथि मसी छ्यापेका हुन्।
स्ववियु निर्वाचनको मतदान मङ्गलबार हुने तय भए पनि केही समूह मतदान रोक्न दवाव दिइरहेको आरोप लागेको छ। बैठकमा निर्वाचन प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेका बेला बानियाँ र श्रेष्ठ बैठकबाट बाहिरिएका थिए। केहीबेरपछि फर्किएर निर्वाचन अधिकृतमाथि टाढैबाट मसी फ्याँकेर घटना मच्चाए।
उम्मेदवारहरूसँग छलफल भइरहेका बेला उनीहरूले मतदान रोक्नुपर्ने भन्दै बारम्बार दबाब दिएपछि आफूले निर्वाचन रोक्नुपर्ने ठोस आधार नभएको बताउँदै बैठबाट बाहिरिएपछि आफुमाथि मसि प्रहार भएको निर्वाचन अधिकृत गौतमले बताएका छन् ।
नेविसंघ भित्रको विवाद
विवेक बानियाँ ‘त्रिचन्द्र स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ’ को नामबाट उम्मेदवार बनेका थिए। श्रीधर श्रेष्ठले नेविसंघकै तर्फबाट उम्मेदवारी दिएका थिए। तर, नेविसंघको आधिकारिकता अर्को समूहलाई दिइएपछि बानियाँ स्वतन्त्र उम्मेदवार बने। त्यसपछि, यी दुई नेताले निर्वाचन रोक्नुपर्छ भन्ने अडान लिएका थिए।
त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन यसअघि तीन पटक स्थगित भइसकेको छ। यो पटक पनि मतदान रोक्न यस्तो घटना गराइएको बताइएको छ ।




