
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले राजावादीहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह र राजनीतिक दलका कार्यालयमा गरेको तोडफोड तथा आगजनीको निन्दा गरेको छ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव घनश्याम भुसालले अराजक समूहले सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन गरेको कार्य आपत्तिजनक रहेको बताए।
पुनर्उत्थानवादी समूहले आफ्नो केन्द्रीय तथा काठमाडौँ जिल्ला कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेको भन्दै उनले आफ्नो पार्टी कार्यालयभित्र उनीहरू प्रवेश गरी भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएको जानकारी दिए।
पार्टीको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई बिहानदेखि खबर गर्दा पनि उनीहरू त्यस विषयमा संवेदनशील नभएकाले घटना हुन पुगेकामा उनले दुःख व्यक्त गरे।
महासचिव भुसालले मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलापविरुद्ध सबै परिवर्तन पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए।