धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारीलाई त्यागेर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उनले पार्टीभित्रको प्रतिस्पर्धालाई स्वभाविक मान्दै अन्य पार्टीसँगको प्रतिस्पर्धामा हुने अन्तर्घातलाई सदाका लागि निर्मूल गर्न आग्रह गरे।
आज धनगढीमा सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा बोल्दै देउवाले भने, “पार्टीभित्रको प्रतिस्पर्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ। यसको सुरुआत यहीबाट गरौँ।”
कांग्रेस र एमालेबीच गठबन्धन गर्नुपरेको कारण उल्लेख गर्दै देउवाले भने, “हामी मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको हो। प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिन्छ।”
उनले संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेको बताए। “भोलिका दिनमा हामी सबै मिलेर सङ्गठन बलियो बनाउन लाग्यौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ। त्यसका लागि इमान्दार भएर लागौँ,” देउवाले भने।
उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर जनताको विश्वास जित्न आवश्यक रहेको बताए। महामन्त्री गगनकुमार थापाले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्दै व्यवस्था बदलिए पनि अवस्था नबदलिएको गुनासोलाई चिर्नुपर्ने बताए। अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको व्यवस्थाभित्रैबाट सबैको हित गर्न सकिने बताए।
गृहमन्त्री रमेश लेखकले व्यवस्था र संविधानविरुद्ध भइरहेको षड्यन्त्रलाई राष्ट्रविरुद्धको षडयन्त्रको संज्ञा दिए। मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन कायम गर्न प्रदेश सरकारले इमान्दारिता र नैतिकताका साथ काम गरिरहेको बताए।
सम्मेलनमा कांग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्रीहरू, पूर्वमहामन्त्रीहरू र प्रदेश सभापति लगायतले सम्बोधन गरेका थिए। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट कांग्रेसका प्रतिनिधि सहभागी सम्मेलनमा प्रदेश महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।




