देश

मेरो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयहरू निजी भन्दा कमजोर छैनन् : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताएका छन् ।

सोमवार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताए । ‘मैले यो क्षेत्रको नेतृत्व गर्दै आइसकेपछि स्कुलहरुमा, त्यसमा पनि सामुदायिक विद्यालयहरुको शैक्षिक वातावरण जुन छ त्यसमा सुधार ल्याउनका लागि, पूर्वाधारहरुको आवश्यक हुन्छ, त्यसलाई जोड दिएर हामीले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण सामुदायिक स्कुलहरुमा हामीले यहाँ जोड दिएका छौँ’ उनले भने ।

अहिले पनि संघ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताए ।

सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताए ।

उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ । शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन,’ उनले भने, ‘हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन । गुणस्तर शिक्षा दिन र अतिरिक्त क्रियाकलापमा पनि र विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेमा सामुदायिक स्कुलहरुले धेरै राम्रो काम गरिरहेका छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *