राजनीति

कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने पुनः दोहोर्‍याएका छन् । आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘म फेरि पनि भन्छु, भ्रष्टाचार गर्न दिन्नँ र आफू पनि गर्दिनँ । कसैसँग दम छ भने कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको प्रमाण ल्याओस् । तर, असम्बन्धित कुराहरूलाई जोडेर हुँदैन,’ उनले भने ।

‘संविधान संशोधन र कानून निर्माण गर्ने विषय कार्यदल बनाइसक्यौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा आवश्यक संशोधन र कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको जानकारी दिए ।

उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गर्ने बताए । कार्यदलपश्चात सरकारपक्षीय दलहरुसँगको छलफल गरिने उनको भनाई छ । ‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ ।’

उनले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने जानकारी गराए । ‘पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिने छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी स्पष्ट छौं, पार्टीहरुका आ–आफ्नै धारणा र पोजिसन हुन सक्छन् । मिलेका कुरामा साझा धारणा वनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस-छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा वनाउँछ । त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *