काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत मोरङमा दायर भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधवार नेकपा एमालेका जिल्ला सदस्यसमेत रहेका पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको प्रतिवेदनमा ठगीमा आरोपित पोखरेललाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबीसहित अभियोग दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।प्रतिवादी पोखरेलको बिहीबार बयान हुनेछ ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा प्रहरीले पौष २५ गते पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको १२ दिनमा अनुसन्धान सकेर माघ ८ गते सरकारी वकिल कार्यालयलाई सो अनुसनधान प्रतिवेदन बुझाएको थियो ।
नेकपा ९एमाले० मोरङका जिल्ला सदस्य समेत रहेका ४३ वर्षीय अनिल मोरङको रङ्गेली नगरपालिका २ घर भई काठमाडौँमा बस्दै आएका थिए । उनले एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रुपैयाँ चौधरीले पोखरेललाई दिएको बौआलालले दाबी गरेका छन् ।
एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासन दिएपछि पैसा बुझाएको बौआलालले बताउँदै आएका छन् । छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै अनिलसँग बौआलाल पुगे । उल्टै जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।
बौआलालले आफू ठगीमा परेको थाहा पाएपछि प्रहरीमा उजुरी दिए । तर प्रहरीले उनको मुदा दर्ता गर्न नमानेपछि उनले हुलाकमार्फत जाहेरी पठाएर उच्च अदालत विराटनगरमा समेत रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि ऋषिकेशले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।




