काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनको लागि अध्यक्ष पदमा ६ जना उम्मेदवार मनोनयन दर्ता गराएका छन्। अध्यक्षका लागि योगेन्द्र बुढा, उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजय प्रकाश सापकोटा, र विश्वमणि थापा रहेका छन्।
सर्वसम्मतीमा नेतृत्व चयन गर्ने प्रयास भएपनि त्यसमा असफल भएपछि मंगलबार साँझ उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरिएको हो। यस क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारसँग छलफल गरेपनि सहमति नजुटेको जनाइएको छ। त्यसपछि नेताहरूले प्यानलमार्फत उम्मेदवारी दिने निर्णय गरेका छन्। प्रचण्डले यसपालि आफू तटस्थ रहने र कुनैपनि उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन्।
नयाँ नेतृत्वको छनोट माघ १२ गते निर्वाचनमार्फत हुनेछ। यसअघि, अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वमा ३२ वर्षभन्दा कम उमेरका प्रतिनिधिहरूलाई मात्र उम्मेदवारी दर्ता गर्न दिने निर्णय गरिएको थियो। २०४९ माघ ७ गतेपछि जन्मिएका व्यक्तिहरू मात्र केन्द्रीय पदाधिकारी, सदस्य र आयोगका पदाधिकारीका लागि उम्मेदवारी दिन पाउनेछन्।
गत असोज १० देखि १५ गतेसम्म भएको सम्मेलनमा उमेर हदको विवाद चर्किएको थियो र त्यसको कारण बन्द सत्र स्थगन भएको थियो। पछि पुस १३ गते भएको मतदानमा ३२ वर्षे उमेर हदलाई बहुमतले पास गरिएको थियो।




