काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताए ।
काठमाडौंको साई स्वागत सहकारीका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु सम्पूर्ण ‘डमी’ सञ्चालक समिति गठन गरेर बाहिरिएका थिए । तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीहरु सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरुको सञ्चालक समिति बनाएर बाहिरिएको काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले देखाएको छ ।
प्रतिवेदनका अनुसार २८ साउन २०७८ मा संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाको तत्कालीन अध्यक्षलाई जिम्मेवारी मुक्त गर्ने मनसायले १२ कात्तिक २०७९ मा संस्थाको सदस्य नै नभएको व्यक्ति निमकुमारी छन्तेललाई संचालक समितिको अध्यक्ष बनाएको पाइएको छ । संस्थाका पूर्वसञ्चालकले जिम्मेवारी पञ्छाउने उद्देश्यले सहकारीको सदस्य नै नभएको व्यक्तिलाई अध्यक्ष बनाएको प्रतिवेदनले जनाएको छ । त्यस्तै, साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष बनाइएको पनि प्रतिवेदनले देखाएकाे छ ।




