जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखका लागि भएको उपनिर्वाचनमा उत्साहपूर्ण मतदान जारी छ । मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान जारी छ । सर्वसाधारण मतदाता मात्र होइन उम्मेदवारहरू पनि मतदान केन्द्र पुगिसकेका छन् ।
आफ्नो मतदान केन्द्रमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछानेले पहिलो मतदान गरेकी छन् । उनले नलगाड–५ स्थित जुनी मावि सिर्के मतदान केन्द्र पुगेर पहिलो मत खसालेकी हुन् । नलगाडमा १६ हजार ४ सय ४९ मतदाता रहेका छन् । जहाँ २४ मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदानलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ४२६ सुरक्षाकर्मी परिचालित भएका छन् ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचन सरिता सिंहको गत वर्ष कात्तिक १७ गतेको भूकम्पमा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नलगाडको उपप्रमुखका लागि नेपाली कांग्रेससबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादी केन्द्रबाट लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्रबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन लगायत ६ उम्मेदवार छन् ।




