काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको विषयमा परामर्श लिन बोलाइएको पूर्वप्रधानमन्त्रीहरुको बैठकमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित नहुने भएका छन् । आफ्नो गृह जिल्ला गोरखामा पूर्वनिर्धारित कार्यक्रम भएकाले आउन नपाउने जानकारी सामाजिक संजालबाट अध्यक्ष भट्टराईले गराएका छ्न ।
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्ता कायम राख्न आग्रह गरेका छन् ।
दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भू–रणनीतिक, भू–आर्थिक र भू–राजनीतिक स्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई ख्याल गर्दै मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष भट्टराईले चिनियाँ परियोजना बिआरआईबाट नेपालले लाभ लिन सक्नुपर्ने समेत बताएका छन् । उनले वैदेशिक व्यापार, पुँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने भन्दै यसअघि भारत र अमेरिकासँग गरेजस्तै चीनबाट प्राप्त हुने परियोजनालाई पनि नछोड्नुपर्ने बताए । अध्यक्ष भट्राईले प्रधानमन्त्री र भ्रमण टोलीलाई चीन भ्रमणको शुभकामना समेत व्यक्त गरेका छन् ।




