काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक निष्कर्षबिहीन समाप्त भएको छ । बिहीबार बसेको संचालक समितिको बैठकमा ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले बक्यौता नतिरेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गर्नुपर्ने प्रस्ताव राखेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त विषयमा लिखित सहमति खोजेका थिए ।
लिखित समितिका विषयमा कुरा नमिलेपछि बैठक निष्कर्षबिहीन बनेको समितिका एक सदष्यले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कार्तिक –८)मा आज सकिदैँछ । गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेका थिए ।
अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ। विद्युत्् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।




