मुख्य समाचार

पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन सकेन, मलाईमात्रै होईन, आम नागरिकलाई पनि चित्त बुझेको छैनः कांग्रेस नेता विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको पूर्व सूचनाअनुसार काम नगर्दा बाढी पहिरोमा ठूलो क्षति भएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले । बिहीबार, शुक्रबार, शनिबार र आइतबार चार दिनसम्म अति भारी वर्ष हुने पूर्व जानकारी हुँदा पनि नागरिकहरुलाई बचाउन नसकिएको उनले बताए ।

‘हाम्रो मौसम विज्ञानले दिनै तोकिदिएको थियो । बिहीबार, शुक्रबार, शनिबार र आइतबार चार दिनसम्म अति भारी वर्ष हुँदैछ र यसमा केही रेड जोनहरु पनि छुट्याइदिएको थियो । नेपालको मौसम विज्ञानप्रति विश्वास गरेर, भर परेर नेपाल सरकारको सुरक्षा निकायहरु र प्राकृतिक प्रकोपबाट नेपाली नागरिकलाई बचाउने संरचनाहरु र जनशक्तिहरु थिए । तिनले जति भूमिका खेल्नुपर्ने थियो, अहिले हामी सबैको मनमा लागेको छ भनेजति भूमिका खेलेनन्,’ उनले भने ।

त्यस्तै, लामो दुरीको यात्रा नगर्नु भनेर सरकार पन्छिएको उनको आरोप छ । सरकारले लामो दुरीको यात्रामा नगर्नु भनेपछि गाडीहरु रोक्नेतर्फ ध्यान दिन चुकेको उनको भनाइ छ । ‘गाडीहरु रोकेको भए झ्याप्ले खोलामा अचानक त्यति ठूलो क्षति बेहोर्नु पर्दैन थियो । मुग्लिनमा रोक्न सकिन्थ्यो, नौविसेमा रोक्न सकिन्थ्यो । तर, विभिन्न ठाउँमा रोक्नुपर्ने कामहरु के कारणले रोकिएन,’ उनले भने ।

सरकारले विपदको समयमा जति गर्नुपर्ने हो गर्न नसकेपनि नेपाली सेना र प्रहरी र सशस्त्र प्रहरीले भूमिका भने प्रसंशनीय रहेको उनले बताए । सरकारको नेतृत्व, प्राधिकरणको नेतृत्व, कर्मचारीको नेतृत्व बाहिर रहेको अवस्थामा बाढी पहिरोसहितको विपत्ति आएको उनले सुनाए । यस्तो अवस्थामा पनि सेना, प्रहरीलगायत सुरक्षा निकायले पाँच हजारभन्दा धेरैलाई उद्धार गरेको उनको दाबी छ ।

सरकारको निकायबाट भएका कामहरुलाई केही पनि भएन भन्न नमिल्ने उनले बताए । नख्खुको टिनको छानामा भएका मानिसहरु बाढी आउँदै छ भाग्नुस् भनेर धन्दा पनि अटेर गरेर बसेको उनको आरोप छ । परिस्थितिजन्य घटनालाई लिएर सरकारले केही पनि गरेन भन्न नमिल्ने उनको भनाइ छ ।

‘नख्खुको टिनको छानामा उभिएका साथी विहानैदेखि त्यहाँ हुनुहुँदोरहेछ । त्यहाँको स्थानीयवासीहरुले बाढी आयो, बाढी आयो भाग्नुस् भने । उहाँ भाग्नुभएन । बचाउनुपर्छ भनेर डोरी लगाएर तरकारीको क्यारेट पठाइयो । उहाँ त्यसमा पस्ने आँट गर्नुभएन । केही समयपछि साथीहरु लिन जानुभयो । उहाँ तल ओर्लिनु भएन । जतिबेला ठूलो बाढी आयो, त्यो घर भत्कियो । उहाँहरु डुब्नुभयो । साथीहरुले चारजनामध्ये तीन जनालाई बचाउनु भयो,’– उनले भने ।

नेता विश्वकर्माले केही ठाउँबाहेक सरकारले राम्रो काम गरेको बताए । सरकारले जति गर्नुपर्ने हो त्यो गर्न नसकेको उनले स्वीकार गरे । यसमा आम नागरि र आफूलाई पनि चित्त नबुझेको उनले सुनाए । ‘मेरो पनि चित्त बुझेको छैन । आम नागरिकको चित्त बुझेको छैन । यो भन्दा राम्रो गर्न सकिन्थ्यो । मौसम विज्ञानले समयमै भनिदिएको थियो । त्यो ठाउँ खाली गर्न सकिन्थ्यो । खाली गर्न कडाई गर्न सकिन्थ्यो,’– उनले भने ।

अब उद्धारको कार्य सकिन लागेको उनले बताए । अब सरकारले वास्तविक पीडितलाई उचित र पर्याप्तमात्रामा राहत पुर्याउनुपर्ने उनले बताए । नेता विश्वकर्माले त्यसपछि सरकारले पुनर्वासको लागि पनि सरकारले सोच्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *