काठमाडौं ।तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव चितवनबाट भारततर्फ लगिएको छ।उक्त दुर्घटनामा परेर २७ जनाको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव पोस्टमोर्टमका लागि चितवनस्थित भरतपुर अस्पताल पुर्याइएको थियो।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको थियो।भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
मृतकहरूको शव परीक्षण भइरहेको चितवन पनि उनी शनिवार अपराह्न पुगेकी थिइन्। उनी पनि शव लिन आएको विमानमै फर्किएको चितवनस्थित नेपाली अधिकारीहरूले बताएका छन्।दुर्घटनामा निधन भएकाहरूको शव पोस्टमोर्टमपछि चितवनबाटै भारततर्फ लैजान लागिएको अधिकारीहरूले बताएका छन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेलका अनुसार अस्पतलामा शवहरू बुझ्न काठमाण्डूस्थित भारतीय दूतावासका प्रतिनिधिहरू आएका थिए।त्यसपछि ती शवहरूलाई चितवन विमानस्थलमा पुर्याइएको थियो। शवहरू लिनका लागि भारतीय वायु सेनाको विमान चितवन विमानस्थलमा अवतरण गरेको थियो।
सोही विमानमा राखेर शवहरू पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।यादवले अधिकांश मृतक महाराष्ट्रका रहेकाले उक्त विमान महाराष्ट्रको नासिक सहरमा अवतरण गर्ने जानकारी आफूले पाएको बताए।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमा उक्त दुर्घटनाबारे भनेका छन्, “हिजो जुन दुखद घटना भयो, त्यसको बारेमा मैले रक्षा मन्त्रालयसँग कुरा गरेको छु। स्वयं गृहमन्त्रीले मानिसलाई मद्दत गर्नका लागि एक जना नोडल अफिसर नियुक्त गर्नुभएको छ।”
अधिकारीहरूले दिएको जानकारी अनुसार २७ मध्ये २५ वटा शवहरू उक्त विमानबाट पठाइएको छ भने बसका चालक र सहचालकको शव भने गाडीबाट भारतको गोरखपुरतिर लगिएको छ।उनीहरू गोरखपुर निवासी भएकाले गाडीबाट त्यता लगिएको हो।उक्त बस नेपालको रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको थियो।
पोखराबाट काठमाण्डूतिर जाँदै गर्दै आँबुखैरेनीको ऐनापहरानजिकै त्यो बस सडकबाट तल खसेको थियो।दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।पोखराबाट ती भारतीय नागरिकहरू पशुपतिनाथ दर्शनका लागि काठमण्डूतर्फ जाँदै गरेको बताइएको छ।भारतको केशरवानी परिवहनको उक्त बस गोरखपुरबाट नेपाल आएको हो।
बसमा चालक र सहयोगीबाहेक ४० जनाजति यात्रु भएको प्रहरीले जनाएको छ।यसैबीच भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँ बस दुर्घटनाका घाइते नागरिकको स्वस्थ्यवस्था बुझ्न तथा मृतकको शव लिनका लागि नेपाल आएकी थिइन्।




