विश्व

हसिनालाई फेरि अर्को ‘धक्का’ : कूटनीतिक राहदानी पनि रद्द

काठमाडौँ । शासन सत्ता गुमाएसँगै बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई एक पछि अर्को ‘धक्का’ लाग्न थालेको छ । लामो समयदेखिको शासन सत्ताको बागडोर गुमाएसँगै हसिनालाई संकटमाथि संकट थपिंदै गएको हो ।हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) पनि रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।

कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञा विना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिन सक्ने अनुमान गरिएको छ ।

बंगलादेश र भारतबिच प्रत्यर्पण सन्धिमा हस्ताक्षर भएकाले बंगलादेश सरकारले औपचारिक रूपमा हसिनालाई फर्काउन माग गरेमा भारत ठुलो दबाबमा पर्ने देखिन्छ । बंगलादेशको मुख्य विपक्षी दल ‘बीएनपी’ ले हसिनालाई प्रत्यर्पण गर्न भारतसँग माग गरेको छ । यिनै परिस्थितिलाई ध्यानमा राख्दै बंगलादेशको अन्तरिम सरकारले उनीसहित उनको कार्यकालमा संसदमा प्रतिनिधित्व गरेका कयौँ नेताको कूटनीतिक राहदानी रद्द गर्ने निर्णय गरेको जानकार बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *